निक्कीद्वारा एफडीआई स्वीकृति स्वचालित बनाउने निर्णयको स्वागत

काठमाडौं– नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले विदेशी लगानी स्वीकृति सेवालाई स्वचालित मार्गबाट सञ्चालन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । कानुन तथा नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने व्यवस्थाअनुसार फागुन ४ मा राजपत्रमा प्रकाशित वैदेशिक लगानीको नयाँ स्वचालित संयन्त्रले प्रक्रियागत ढिलाइ घटाउने, पारदर्शिता बढाउने र नेपालमा लगानी गर्न स्वीकृति चाहने विदेशी लगानीकर्ताका लागि प्रशासनिक झन्झटिलो प्रक्रिया सरल बनाउने अपेक्षा गरिएको छ ।
लगानी स्वीकृति प्रक्रियालाई डिजिटाइज र व्यवस्थित गर्दै सरकारले नेपालका नियामक अभ्यासलाई विश्वव्यापी उत्कृष्ट अभ्यास र लगानीकर्ताको अपेक्षासँग नजिक लैजाने महत्त्वपूर्ण कदम चालेको निक्कीको धारणा छ । निक्की अध्यक्ष सुनील केसीले सरकारको कदमको स्वागत गर्दै हालको प्रमुख दायित्व निर्वाचन भए पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छ’, उनले भने ।
उनले लगानी सहजीकरणका लागि प्रधानमन्त्री, उद्योगमन्त्री र अर्थमन्त्रीको प्रयासप्रति धन्यवाद व्यक्त गरे । निक्कीले करिब एक महिनाअघि उद्योगमन्त्री अनिल सिन्हासँग छलफल आयोजना गरेको, आफ्ना सुझाव पेस गरेको र प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण गर्न लामो समयदेखि अस्तित्वमा रहेका कानुन सुधार्न सरकारसँग आग्रह गरेको स्मरण गराएको छ ।
निक्कीअन्तर्गतको इन्डियन बिजनेस फोरम (आईबीएम)का सह–संयोजक सैबाल घोषले स्वचालन प्रणाली महत्त्वपूर्ण सुधार भए पनि यसलाई व्यापक र समग्र लगानी रणनीतिको अंशका रूपमा हेरिनुपर्ने बताए । नयाँ सरकारले भारतका विभिन्न राज्य र केन्द्र सरकारद्वारा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न प्रदान गर्ने स्किमसँग मेल खाने गरी नयाँ लगानीकर्ताका लागि लाभ वा प्रोत्साहन योजना ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
निक्कीले लगानीका लागि क्षेत्रीय प्रतिस्पर्धा तीव्र बन्दै गएको, छिमेकी मुलुक र भारतीय राज्यले विश्व बजारबाट पुँजी आकर्षित गर्न कर प्रोत्साहन, क्षेत्रगत लाभ र सहजीकरणजस्ता प्याकेज उपलब्ध गराइरहेकाले प्रतिस्पर्धामा नेपालले आफ्ना प्रोत्साहनका प्याकेज बनाउन पनि जोड दिएको छ ।
नेपाल–भारतबीचको बलियो आर्थिक अन्तरसम्बन्ध, भौगोलिक निकटता र बढ्दो सीमापार लगानी चासोलाई दृष्टिगत गर्दै भारतमा प्रचलित वैदेशिक लगानी प्रोत्साहन गर्न नेपालका कानुनी तथा अन्य संरचना अझ सहज बनाउनु विशेष रूपमा महत्त्वपूर्ण हुने निक्कीले उल्लेख गरेको छ ।
निक्कीले लगानीमैत्री नीति निर्माण गर्न, नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न तथा नेपाल–भारत आर्थिक सहकार्य सुदृढ गर्न सरकार, नीति निर्माता र सरोकारवालासँग नजिकबाट सहकार्य जारी राख्ने प्रतिबद्धता पुन: दोहोर्याएको छ ।
It was originally published on Karobardaily.

